कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानसँग सम्झौता


काठमाडौं-  कोटेश्वर–जडीबुटी क्षेत्रमा अन्तरपाससहितको फ्लाईओभर निर्माण गर्न नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौता भएको छ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोटमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका छन्। त्यस्तै, सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले पनि हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करीब ३१.७६ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ। ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।

आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी खण्डमा अन्डरपास र फ्लाईओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर र बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनको सहजता बढाउने साथै ट्राफिक जाम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

जापानी राजदूतले कोटेश्वर चोक सुधार आयोजना जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने भएकाले उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेका थिए।

 

प्रतिक्रिया