
३ घण्टा डेटा नि:शुल्क दिँदा टेलिकमलाई ५० लाख घाटा, २०० टीबी डेटा खेर
काठमाडौं- मङ्गलबार नेपाल टेलिकमको डेटा सेवा देशभर अस्थायी रूपमा अवरुद्ध भएपछि कम्पनीले बिलिङ प्रणाली बाइपास गर्दै तीन घण्टा डेटा नि:शुल्क उपलब्ध गराएको थियाे। जसका कारण टेलिकमलाई करिब ५० लाख रुपैयाँ घाटा भएको छ भने २०० टेराबाइटभन्दा बढी डेटा खेर गएको छ।
समस्या मङ्गलबार अपराह्न ५:१५ बजे देखापरेको थियो। त्यसभन्दा पूर्व सवा ५ बजेदेखि नै टेलिकमको डेटा ‘इनएक्टिभ मोड’मा गएको थियो। प्राविधिकहरूले राति साढे ७ बजेसम्म पनि समस्या पहिचान गर्न सकेनन्। अन्ततः बिलिङ प्रणाली बाइपास गरेर सेवा सञ्चालन गरिएको थियो।
बाइपास गर्दा डेटा प्याकेज नलिएका ग्राहकहरूको मोबाइलमा डेटा नि:शुल्क उपलब्ध भयो। तर, बिलिङ प्रणालीको बाइपासका कारण कम्पनीको आम्दानीमा ठूलो क्षति पुगेको छ। टेलिकम स्रोतका अनुसार सेवा ठप्प हुँदा राति ११ बजेसम्म देशभर डेटा नियमित राख्न यो उपाय अपनाउनु परेको थियो।
प्राविधिकहरूले प्रारम्भिक रूपमा पुरानो बिलिङ प्रणाली र पीएस कोर नेटवर्कमा समस्या देखिएको निष्कर्ष निकालेका छन्। पुरानो बिलिङ प्रणालीका कारण टेलिकमको नेटवर्कमा विगत वर्षमा समेत पटक–पटक समस्या देखिएको थियो। नयाँ बिलिङ प्रणाली खरिदको प्रक्रिया हाल पनि टेलिकममा जारी छ।



कागजपत्र |
