रोसिङटनको शतकमा पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य


काठमाडौं-  नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पोखराले पूरा ओभर खेलेर दुई विकेटको क्षतिमा २०१ रन बनाएको हो ।

पोखराका लागि एडम रोसिङटनले शतक प्रहार गरे । उनले ५८ बलमा ११ चौका र ७ छक्कासहित १०८ रन जोडे । एनपीएलको इतिहासमा यो तेस्रो शतक हो भने जारी सिजनमा दोस्रो । यसअघि कर्णालीका मार्क वाटले शतक बनाएका थिए ।

जेसन रोयले ३४ बलमा २ चौका र ३ छक्कासहित ४६ रन बनाए । कप्तान कुशल भुर्तेल १८ रन बनाएर आउट हुँदा धनञ्जय लक्ष्मणले रन जोडे ।

कर्णालीका लागि मार्क वाट र नन्दन यादवले एक-एक विकेट लिए ।

पाँच खेल खेलिसकेको कर्णाली र चार खेल खेलेको पोखरा दुवैले एक/एक खेलमात्रै जितेका छन् । अंक तालिकामा कर्णाली छैटौँ स्थानमा छ भने पोखरा अन्तिममा छ ।

प्रतिक्रिया