
जेनजी आन्दोलनमा भएको दमनको जिम्मेवारी ओली सरकारले लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको जेनजी आन्दोलनमा भएको दमन र हिंसाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले लिनुपर्ने बताएकी छन्।
सोमबार एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै भण्डारीले जेनजी आन्दोलनको दौरान भएका दुर्घटनाप्रति जनआक्रोश बढेको स्वीकार गर्दै, यो घटना प्रायोजित थियो कि थिएन भन्ने विषयमा गहन अध्ययन आवश्यक रहेको धारणा व्यक्त गरिन्।
आन्दोलनको क्रममा भएको दमनलाई उनले ‘दुःखद’ भनेकी छन् र यस घटनाले देशको राजनीतिक स्थायित्वमा गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छन्। उनका अनुसार युवा पुस्ताको आन्दोलनले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार समाधान खोज्नु पर्ने आवश्यकता औंल्याएको छ।
पूर्वराष्ट्रपतिले घटनामा युवाहरूको ज्यान गुमेको र सम्पत्तिको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्।
साथै, भण्डारीले वर्तमान राजनीतिक संकटलाई संवैधानिक दायराभित्र राखेर समाधान गर्न दलहरूलाई सुझाव दिँदै, देशलाई दायाँ दिशामा लैजान सबै दलहरूले एकजुट हुनुपर्नेमा जोड दिइन्।



कागजपत्र |
