भारतमा एकैदिनमा एक लाख ३२ हजार सङ्क्रमित


नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ ।

यो सङ्ख्या अहिले बढेर झण्डै एक लाख ३२ हजारमा पुगेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टा एक लाख ३१ हजार ९६८ पुगेको हो । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३० लाख ६० हजार ५४२ पुगेको अधिकारीहरुको भनाई छ ।

यही हप्ता दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी पुगेको शुक्रबार चौथो पटक हो । यसअघि गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए भने बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए । त्यसैगरी बिहीबार एक लाख २६ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा ७८० जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या एक लाख ६७ हजार ६४२ पुगेको छ ।मन्त्रालयका अनुसार भारतमा अहिलेपनि नौ लाख ७९ हजार ६०८ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल एक करोड १९ लाख १३ हजार २९२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया