
सुर्खेतको काँक्रेविहारमा मृत भेटिएका युवायुवतीको पहिचान खुल्यो
सुर्खेत- सुर्खेतको काँक्रेविहार जंगलमा मृत अवस्थामा फेला परेका युवायुवतीको पहिचान खुलेकाे छ। मृत्यु भएका मध्ये युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
दुवै जना वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार जंगलमा सोमबार बिहान मृत भेटिएका हुन्। जंगलमा घाँस काट्न गएका स्थानीयले दुवैलाई रुखमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीले खबर गरेका थिए।
सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको डीएसपी मोहनजंग बुढाथोकीले जानकारी दिए।
उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्री घटनास्थलमै पुगेर मृतकहरूको पहिचान गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



कागजपत्र |
