
सन्दीपको शानदार बलिङसहित जनकपुरविरुद्ध विराटनगरको रोमाञ्चक जित
काठमाडौं — कप्तान सन्दीप लामिछानेले ४ विकेट हात पारेपछि विराटनगर किंग्सले जनकपुर बोल्ट्सविरुद्ध ९ रनको जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो । जनकपुरको यो दोस्रो हार हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेलेर ९ विकेट गुमाउँदै १२६ रनमा रोकियो ।
विराटनगरलाई जिताउन सन्दीपले एकै ओभरमा दुई विकेटसहित चार विकेट लिए ।
जान निकोल लोफ्टी-इटनले ४१ रन जोडे पनि जनकपुरले जित्न सकेन ।
यसअघि विराटनगरले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । विराटनगरका लागि बसिर अहमदले ३६ रनको योगदान गरे भने शुभम रन्जानेले ३७ रन जोडे । ओपनर लोकेश बम २८, मार्टिन गप्टिल १३ र जर्ज मन्सी १० रनमा आउट भएका थिए ।
जनकपुरका लागि सङ्गीथ कुरे र रूपेश सिंहले दुई-दुई तथा आदित्य महतोले १ विकेट लिए । टस जितेर जनकपुरले बलिङ रोजेको थियो ।



कागजपत्र |
