धुनीबेसी नगरपालिकाको निकासी करले सानेपामा आतंक मच्चाउँदै चौधरी, अख्तियार र राजस्वको समेत बदनाम


ललितपुर – ललितपुरको सानेपामा धादिङको धुनीबेसी नगरपालिकाको नाममा उठाइने निकासी करले आतंक मच्चाएको छ ।

धुनीबेसी नगरपालिकाको क्षेत्रभित्र मात्र उठाउन पाउने गरी ठेक्का पाएको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नले ललितपुरको सानेपाबाट अनधिकृत रुपमा निकासी कर संकलन गर्दै आतंक मच्चाउँदै आएको व्यवसायीहरुले जनाएका छन् ।

उक्त कम्पनीले धुनीबेसी नगरपालिकाभित्र मात्र कर संकलन गर्न पाउने गरी ठेक्का पाएता पनि ललितपुर महानगरबाट कर संकलन गरिरहेको छ । यसबारेमा केही व्यावसायीहरुले ललितपुर महानगरमा करिब ३ महिना अगाडि निवेदन नै दर्ता गराए पनि महानगरले खासै वास्ता नगरेको व्यवसायी बताउँछन् ।

आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्न प्रालिले ठेक्का लिए पनि पछिल्लो समय इन्द्रेणी हार्डवयेयर एण्ड सेनिटरिवेयर प्रा.लि.का सञ्चालकहरुले कारोबार गर्दै आएको पनि स्रोतको दाबी छ ।

केही व्यवसायीहरुले धुनिबेसीको बिल यहाँ किन काट्ने भनेर प्रश्न गरे पनि आर एण्ड आरका सञ्चालक दिपु चौधरी साथै अर्जुन तामाङ, दीपक परियार, रिकेश महर्जनलगायतले आफूहरु अख्तियार र राजस्वको मान्छे भएको भन्दै व्यवसायीहरुलाई डर, धाक, धम्की दिई सानेपाबाट नै बिल काट्दै आएका छन् ।

त्यसमा विशेष गरी बाबुनन्द चौधरी, दिपु चौधरी, रोशन चौधरी आफूहरुलाई आतंकित बनाइरहेको व्यवसायी बताउँछन् । उनीहरुले केही कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा न्यून शुल्कमा टेण्डर हात पारेर व्यवसायीहरुसँग महंगो दरमा कर उठाइरहेको पनि व्यवसायीहरु जनाउँछन् ।

उनीहरुले आफू अख्तियार र राजस्वको धम्की दिँदै निकासी कर उठाउने गरेको र व्यवसायीले केही थप कुरा गर्न खोजे गाडी रोकिदिने, अन्य मानिसहरु बोलाएर ड्राइभरलाई थर्काउने र हातपात समेत गर्ने गरेको पनि व्यवसायी बताउँछन् ।

दिपक परियार र दिपुको समूहले उपत्यकाका विभिन्न नगरपालिकाहरुमा कवाडी निकासी करका लागि टेण्डर बुझाउने अनि आफैं मुद्दा हाल्ने गरेका छन् । जसबाट एकातिर ठेक्काको काम अगाडि नबढ्ने र अर्कातिर अनधिकृतरुपमा धुनीबेसी नगरपालिकाको कर सानेपाबाट उठाइरहने गरेका छन् । यो समूहले राजधानीका कागेश्वरी, गोकर्णेश्वर, नागार्जुन र दक्षिणकाली नगरपालिकामा पनि टेण्डर हालिसकेपछि मुद्दा दायर गरेका छन् ।

पछिल्लो समय उनीहरुको यो कम्पनी ठेक्का र टेण्डरसम्बन्धी काम गर्नका लागि कालोसूचीमा परेको जनाइएको छ । उनीहरुको उक्त कम्पनीलाई नागार्जुन नगरपालिकाले गत वर्ष नै कालोसूचीमा राख्नका लागि सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया