
न्याय नपाएसम्म चुनावमा जाँदैनौं : सुदन गुरुङ
काठमाडौं- हामी नेपालका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आन्दोलनका माग पूरा नगरी धोका दिएको आरोप लगाएका छन्।
बिहीबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले आन्दोलनको भावनाअनुसार काम नगरेको बताए। गुरुङले जेन–जी आन्दोलनका क्रममा सहिद र घाइतेको न्याय नदिलाएसम्म आफूहरू चुनावमा सहभागी नहुने स्पष्ट चेतावनी दिए।
‘हामी चुनावमा जाँदैनौं,’ उनले भने, ‘०८४ को चुनाव ०८२ मा सार्नका लागि लडेका होइनौं। यति धेरै मान्छे घाइते, सहिद भएका छन्, तर गृहमन्त्रीले धोका दिनुभयो। न्याय नपाएसम्म हामी कहाँ चुनावमा जान्छौं ?’
गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाउँदै उनले अब गृह मन्त्रालयको सट्टा कानून मन्त्रालयतिर पठिनुपर्ने सुझाव दिए।
उनका अनुसार गृहमन्त्रीले जेनजी आन्दोलनका बेला सेना र राष्ट्रपति कार्यालयसँग छलफल गरी आश्वासन दिएका थिए, तर त्यसको कुनै कार्यान्वयन भएन।
गुरुङले मतदाता नामावली सङ्कलनमा देखिएका समस्याबारे आयोगसँग छलफल गर्दै हिमाली जिल्लाहरूमा घुम्ती शिविर सञ्चालनको माग समेत राखेका थिए।



कागजपत्र |
