
काठमाडौं महानगरले सुरु गर्यो सामुदायिक कुकुरको बन्ध्याकरण
काठमाडौं- काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरहरूको बन्ध्याकरण कार्यक्रम सुरु गरेको छ। महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँच वटा संघसंस्थासँग सम्झौता भइसकेको छ। ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको छ।
महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्ध खोप लगाउने कार्यका लागि इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गरेको थियो। त्यसअनुसार सार्वजनिक सूचनाबाट आएका संघसंस्थामध्ये पाँच वटा चयन भएका हुन्।
महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले सम्झौता हस्ताक्षर कार्यक्रममा यो धर्ती कुकुरहरूको पनि हो भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले संघसंस्थालाई बन्ध्याकरण कार्य व्यावसायिक भावले नभई सेवा भावले गर्न निर्देशन दिए।
न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ। आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा अर्को ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना छ।



कागजपत्र |
