विवादित खगेन्द्र सुनारको शपथ रोकियो, सूचीबाट काटियो नाम


काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पदका लागि सिफारिस गरेका खगेन्द्र सुनारको शपथ ग्रहण कार्यक्रम विवादका कारण तत्कालका लागि रोकिएको छ। सिफारिस भएको केही समयमै सुनारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको तथ्य बाहिर आएपछि यो निर्णय भएको हो।

स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारको नाम श्रम मन्त्रीको रूपमा समावेश थियो।

तर, उनीविरुद्ध अदालतमा रहेको फौजदारी मुद्दाको विवरण सार्वजनिक भएपछि प्रधानमन्त्रीले थप छलफल गरी शपथ नदिने निर्णय लिइन्। प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले राष्ट्रपति कार्यालय पुगेर सुनारलाई शपथ नगराउने जानकारी गराएका थिए।

दलित अधिकार अभियन्ताका रूपमा सक्रिय सुनारविरुद्ध दैलेखको नारायण नगरपालिका–२ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको थियो।

अदालतको अभिलेख अनुसार, उक्त मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। अदालतले सुरुमा सात दिने र पछि ३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो। २०८१ मङ्सिर २१ गते उनलाई पक्राउ गरेर उपस्थित गराउन पुनः पत्राचार भएको तथ्य बाहिर आएको छ।

यसका अतिरिक्त, सुनारविरुद्ध ठगी, साइबर अपराध र यौन दुर्व्यवहार जस्ता गम्भीर प्रकृतिका आरोपहरू पनि विभिन्न चरणमा बाहिर आएका थिए।

 

प्रतिक्रिया