विश्वभर कोरोनाको दोस्रो लहर, बेलायतमा पनि १० लाख बढी संक्रमित
काठमाडौं – विश्वभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । पछिल्ला चरणमा युरोपेली मुलुकहरुमा कोरोना महामारीको संक्रमण बढ्न थालेपछि यसलाई दोस्रो चरणको महामारी भन्न थालिएको छ ।
फ्रान्स, बेलायत, रसिया, इटाली, पोल्यान्ड, बेल्जियमलगायतका मुलुकहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
युरोपेली मुलुकहरुमा फ्रान्समा पछिल्ला दिनमा संक्रमित सँगै निकै बढ्दै गइरहेको छ भने निको हुनेको संख्या भने निकै कम दरमा देखिएको छ । फ्रान्समा कोरोनामुक्त हुनेको संख्या ८ प्रतिशतको हाराहारीमा मात्र छ । हालसम्म फ्रान्समा १३ लाख ६७ हजार ६ सय २५ संक्रमित रहेकोमा १ लाख १७ हजार ६ सय ५८ जना मात्र निको भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार विश्वका ९ वटा देशहरुमा १० लाख बढी संक्रमित देखिएका छन् ।
ती मध्ये सबैभन्दा धेरै अमेरिकामा हालसम्म संक्रमितको संख्या ९४ लाख २ हजार ५ सय ९० पुगेको छ । त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा ९ सय १४ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३६ हजार ७२ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये हालसम्म ६० लाख ६२ हजार ४ सय ३८ जना कोरोनामुक्त भएका छन् ।
त्यसपछि भारत, ब्राजिल, रसिया, फ्रान्स, स्पेन, अर्जेन्टिना, कोलम्बिया र बेलायत क्रमशः दोस्रोदेखि नवौं स्थानसम्म रहेका छन् ।
हालसम्म विश्वमा ४ करोड ६३ लाख ६७ हजार ४ सय ७३ जना संक्रमित पुगेका छन् भने ११ लाख ९९ हजार ७ सय २७ जनाको मृत्यु भइसकेको छ । ती मध्ये ३ करोड ३४ लाख ७९ हजार २ सय ४८ जना कोरोना मुक्त भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।