
सडकमा फर्किएको आत्मा : ट्राफिक प्रहरीको मनोबल र नेतृत्वको नयाँ परिभाषा
काठमाडौं- जेनजी आन्दोलनको तीव्रताका बीच हतियारविहीन प्रहरीहरूमध्ये सबैभन्दा बढी जोखिममा परेका थिए, ट्राफिक प्रहरी। उनीहरूका पहेंलो ज्याकेट र सेतो टोपी आन्दोलनको भीडमा आक्रोशको निशाना बने। सडक व्यवस्थापनका लागि खटिएका धेरै ट्राफिक प्रहरी त्यतिबेला नारा, घोप्टो हल्ला र कहिलेकाहीँ हिंस्रक उच्छृङ्खलताका पनि शिकार बनेका थिए।
तर आन्दोलन सकिएपछि सडकमा फेरि जीवन फर्कियो, र त्यससँगै ट्राफिक प्रहरीको मनोबल पनि पुनर्जीवित भयो।
अवरोधबीचको अनुशासन
हाल काठमाडौं उपत्यकाका सडकहरूमा ट्राफिक प्रहरीहरू फेरि त्यही समर्पणका साथ खटिएका देखिन्छन्। जसको नेतृत्व गरिरहेका छन्, ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी। जसले सीमित स्रोत र अवरोधबीच पनि चाक–चौबन्द व्यवस्थापन कायम राख्न सफल भएका छन्।
पानीमा डुब्ने झोला, माइक, बार, रिफ्लेक्टर जस्ता सामग्रीको अभावका बाबजुद सडकमा प्रहरीहरूको तैनाथी र अनुशासनले राजधानीको ट्राफिक प्रणालीलाई पुनः सामान्य बनाएको छ। एसएसपी अधिकारीले “संसाधन होइन, मनोबलले संगठन बलियो हुन्छ” भन्ने दर्शनलाई व्यवहारमै उतारेका छन्।
मोरल हाई गर्ने नेतृत्व
आन्दोलनपछिको निराश मनस्थितिमा रहेका ट्राफिक प्रहरीहरूलाई पुनः उत्साहित पार्न अधिकारीको नेतृत्व निर्णायक साबित भएको छ। नियमित ब्रीफिङ, फिल्ड–भिजिट र मनोबल–बृद्धि संवादमार्फत उनले सडकमा खटिएका जवानहरूलाई “कर्तव्यमै गौरव” महसुस गराएका छन्।

ट्राफिक व्यवस्थापन मात्र होइन, सडक दुर्घटना, भीड नियन्त्रण र आपतकालीन सफाइसम्ममा खटिने प्रहरीहरू अहिले पनि सडकमा तातो डामरभित्र हिँडिरहेका छन्। कसैले देख्दैन, तर उनीहरूकै कारण राजधानीको गतिशीलता बाँचिरहेको छ।
नवराज अधिकारीको प्रोफेशनलिज्मलाई सलाम
सडकमा फैलिएका सिसाका टुक्रा आफ्नै हातले बटुल्ने, बिहानदेखि रातिसम्म निरीक्षण गर्ने र जवानको गल्तीभन्दा बढी उसको मनोबलमा ध्यान दिने अधिकारीको शैलीले ट्राफिक प्रहरी संगठनमा नयाँ ऊर्जा भरेको छ।
उनी नेतृत्वको उचाइमा मात्र होइन, जिम्मेवारीको गहिराइमा पनि उत्रिएका देखिन्छन्। नेपाल प्रहरीको यही कर्तव्य, अनुशासन र जनसेवाप्रतिको निष्ठानै आज जनताले देख्न चाहिरहेका छन्।
जेनजी आन्दोलनले जहाँ जनभावनाको विस्फोट देखायो, त्यहीँ ट्राफिक प्रहरीको शान्त अनुशासनले राज्य संयमको सन्देश दियो।
र आज त्यही संयम पुनः सडकमा फर्किएको छ, मोरल हाई र मनोबल अटल भएर।



रोशन राज पाण्डे |
