
दुर्गा प्रसाईंको अस्पतालमा कार्यरत चिकित्सक आन्दोलित, चार महिनादेखि तलब नपाएको आरोप
झापा — व्यवसायी दुर्गा प्रसाईंको स्वामित्वमा रहेको बी एण्ड सी मेडिकल कलेज टिचिङ अस्पताल, बिर्तामोडका मेडिकल अफिसरहरूले चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्। प्रशासनले बारम्बार माग बेवास्ता गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
मेडिकल अफिसरहरूले तलब बक्यौता, श्रमशोषण र जनशक्तिको अभावबारे पटक–पटक अस्पताल प्रशासनलाई जानकारी गराए पनि कुनै ठोस कदम नचालिएकाले आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गर्ने निर्णय गरेका छन्।
आन्दोलनका क्रममा डाक्टरहरूले ओपीडी सेवा, वार्ड राउन्डलगायतका सेवा तत्कालका लागि बन्द गरेका छन्। तर, बिरामीलाई असहज नहोस् भन्ने उद्देश्यले आपतकालीन सेवा, आइसीयू, सीसीयू र एनआईसीयू भने निरन्तर सञ्चालनमा रहने जनाइएको छ।
उनीहरूको प्रमुख मागमा चार महिनाको बक्यौता तलब तत्काल भुक्तानी गर्नुपर्ने, आगामी दिनमा तलबसुविधा प्रत्येक महिनाको पाँच गतेभित्र अनिवार्य रूपमा दिनुपर्ने, साथै प्रत्येक विभागमा पर्याप्त संख्यामा मेडिकल अफिसर नियुक्त गर्नुपर्ने रहेका छन्।



कागजपत्र |
