विचार बोल्नेहरूको काँधमा टिकेको लोकतन्त्र


नेपाली कांग्रेसको आत्मा के हो? यदि एउटा वाक्यमा भन्नु पर्‍यो भने— “विचार बोल्नेहरूको साहस।” तर अहिले यही साहस आफ्नै भित्ताभित्र अपमानित हुँदैछ।

केन्द्रीय सदस्य तथा बागमतीका पूर्व अर्थमन्त्री कुन्दन काफ्लेले पार्टीभित्रको नीति र कार्यशैलीबारे बोलेका केही टिप्पणीहरूले सामाजिक सञ्जालमा उनीमाथि तीव्र आक्रमण निम्त्याएका छन्। यो आक्रमण केवल एक व्यक्तिमाथिको होइन:- यो लोकतान्त्रिक असहमतिको आत्मामाथिको प्रहार हो।

इतिहास बोल्छ: “श्रीपेज हामी जलाउँछौं, देश हामी चलाउँछौं” २०६२/६३ को आन्दोलनको दिनहरू सम्झना योग्य छन्। त्यो बेला सडकमा उभिएर कुन्दन काफ्लेले गगन थापाको नाममा नारा लगाएका थिए, “श्रीपेज हामी जलाउँछौं, देश हामी चलाउँछौं!”

त्यो बेला गगन थापा राजद्रोह मुद्दामा थुनामा थिए। अदालत बाहिर यो आवाज़ गुञ्जिएको थियो ।काफ्ले र उनका सहकर्मीहरू सडकमा गगनको विचारलाई जीवित राखिरहेका थिए। केही दिनअघि मात्रै गगन थापाले एक कार्यक्रममा त्यस दिनलाई सम्झँदै भनेका थिए त्यो आन्दोलनमा कुन्दनको स्वर मेरो आवाज थियो।”

आज विडम्बना के छ भने, त्यही आवाज, जसले एकदिन गगन थापाको विचारलाई जनताको कानमा पुर्‍यायो, आज गगनका केही समर्थकहरूको निशानामा परेको छ।गगन थापाको पनि यही बाटो थियो, कांग्रेसभित्र नीति, विचार र सुधारको पक्षमा बोल्नु कुनै अपराध होइन।

यदि त्यस्तो बोल्नेले आज आलोचना सहनुपर्छ भने,कांग्रेसको युवा इतिहासका सबै पात्रहरू दोषी ठहरिनुपर्ने हुन्छ। २०६३ सालको अन्त्यतिर, गगन थापाले स्वयम् वरिष्ठ नेता, जन कमाण्डर तथा पार्टी सभापती गिरिजा प्रसाद कोइरालामाथि ‘उत्तराधिकारी मनोनयन’ को आलोचना गरेका थिए।

उनले भनेका थिए, “कांग्रेसमा नेतृत्व उत्तराधिकार होइन, प्रतिस्पर्धाबाट आउनुपर्छ।”त्यो बेला थापामाथि पनि नेताहरूले “अविवेकी” र “अहंकारी” को आरोप लगाएका थिए।तर इतिहासले देखायो त्यो असहमति नै उनको राजनीतिक उचाइको कारण बन्यो।त्यसपछि, २०७५ सालमा संसदीय दलभित्र गगन थापाले खुलेरै ‘कांग्रेस पुरानो सोचमा अड्किएको छ, हामीले नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ’ भन्ने वक्तव्य दिएका थिए।

त्यस भाषणपछि पनि उनलाई ‘पार्टी कमजोर पार्ने’ आरोप लगाइएको थियो।तर आज गगन थापा पार्टीका सम्भावनायुक्त युवा नेता मानिन्छन्।त्यो बेला थापा जसरी आलोचना सहन्थे,आज कुन्दन काफ्लेले त्यसै किसिमको विचार बोल्दा निन्दा भोगिरहेका छन्।तर फरक के हो भने,थापाले अघिल्लो पुस्ता चुनौती दिए, काफ्लेले आफ्नै पुस्तामा सुधारको आह्वान गरेका छन्।

विचारको अपराधी बनाउने परिपाटी कांग्रेसमा विचार बोल्नेहरूलाई “गुटबादी” वा “दुश्मन” देख्ने प्रवृत्ति नयाँ होइन। तर अहिले यो प्रवृत्ति डिजिटल रूपमै चरममा पुगेको छ। गगन थापाको नीतिगत आलोचना गर्नेहरू मध्ये धेरै कांग्रेसका असली कार्यकर्ता होइनन्, बरु आपराधिक पृष्ठभूमि र स्वार्थी घेराका पात्रहरू छन । त्यसैले, उनीहरूको बोलीले काफ्लेजस्ता संघर्षको माटोबाट उम्रिएका नेताको योगदान ओझेल पर्नु कांग्रेसकै लागि अपमान हो।

लोकतन्त्र: जहाँ असहमति अपराध होइन लोकतान्त्रिक पार्टीको मूल्य भनेको असहमति सुन्ने संस्कृतिमा हुन्छ। कांग्रेसले राजतन्त्रविरुद्धको आन्दोलन जित्न सकेको कारण पनि यही हो । त्यहाँ विचार बोल्नेहरूको ठाउँ थियो।तर अहिले त्यो स्थान साँघुरिँदै गएको छ।

यदि पार्टीले आफ्नो आलोचकलाई चुप गराउन खोज्छ भने, त्यो पार्टी अब लोकतान्त्रिक होइन, केवल सत्ता–संरक्षित संगठन मात्र रहन्छ। कुन्दन काफ्लेले २०६२/६३ मा उठाएको आवाज—“श्रीपेज हामी जलाउँछौं, देश हामी चलाउँछौं” आज पनि सान्दर्भिक छ। त्यो आवाज आज “विचार हामी बोल्छौं, पार्टी हामी सुधार्छौं” मा रूपान्तरण भएको छ। र जब गगन थापा जस्ता नेताहरूले अतीतमा असहमतिको बाटो हिँडेर कांग्रेसलाई आधुनिक धारमा ल्याए, त्यसै बाटोमा आज कुन्दन काफ्ले हिँडिरहेका छन्। त्यसैले, कुन्दन काफ्ले शत्रु होइनन् — उनी त कांग्रेसभित्रको अन्तर्मन हुन्, जो पार्टीलाई सचेत गराउँछन्, जगाउँछन्, र याद दिलाउँछन् — “लोकतन्त्र बोल्दा मर्दैन, चुप लाग्दा मर्छ।”

प्रतिक्रिया