गगन थापाको घरबाट फ्रिज र उफर चोरी गर्ने थामी पक्राउ


काठमाडौं – जेनजी आन्दोलनपश्चात उत्पन्न अशान्त परिस्थितिकाबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरबाट फ्रिज र उफर चोरी गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाका अनुसार पक्राउ पर्ने व्यक्ति सिन्धुली घर भई हाल काठमाडौँको रातोपुलमा डेरा गरी बस्ने ४० वर्षीय रमेश थामी हुन् । प्रहरीले थामीको साथबाट चोरी गरिएको फ्रिज र उफर दुवै वस्तु बरामद गरेको जनाएको छ।

गौशालास्थित एक प्रहरी अधिकृतका अनुसार, प्रारम्भिक अनुसन्धानबाट थामीले जेन–जी आन्दोलनका बेला उत्पन्न अराजक अवस्थाको फाइदा उठाई चोरी गरेको खुलेको छ।

२०७८ भदौ २३ गतेको भ्रष्टाचारविरुद्धको जेन–जी आन्दोलनका क्रममा राज्य पक्षको बल प्रयोगबाट कम्तीमा २२ जनाको ज्यान गएको थियो । त्यसको भोलिपल्ट आन्दोलनले हिंसात्मक रूप लिँदा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचनामा आगजनी र तोडफोड भएको थियो।

त्यसक्रममा शीर्ष राजनीतिक नेताहरूका आवास, पार्टी कार्यालय र स्थानीय जनप्रतिनिधिका घरमा पनि क्षति पुगेको थियो । केही स्थानमा लुटपाट र तोडफोडका घटनाहरू समेत भएका थिए ।

प्रतिक्रिया