
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात
काठमाडौं- नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।
पाइपलाइनबाट हालसम्म छ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सोही दिनदेखि नै पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । यस्तै २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनबाट ल्याउन थालिएको हो । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन परियोजनाको कूल लम्बाइ ६९ दशमलव दुई किलोमिटर छ । यसमध्ये भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६ दशमलव दुई किलोमिटर छ ।
पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ निर्माण गरिएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियम पदार्थले नेपालको करिब ७० प्रतिशत माग पूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट काठमाडौँ, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगञ्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।



कागजपत्र |
