
भदौमा महँगी घट्दै १.८७ प्रतिशतमा सीमित, गत वर्षको तुलनामा झण्डै आधा
काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२ को भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.८७ प्रतिशत पुगेको छ। गत वर्षको सोही महिनामा यो दर ३.८६ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ऋणात्मक १.३४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहमा मुद्रास्फीति ३.७० प्रतिशत रहेको छ।
गत वर्ष यिनै समूहहरूको मुद्रास्फीति क्रमशः ५.०६ प्रतिशत र ३.१९ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क ११.०९ प्रतिशतले बढेको छ।
त्यसैगरी गैर–मदिराजन्य पेय पदार्थ ३.९७ प्रतिशतले र दुग्ध पदार्थ तथा अण्डा २.६६ प्रतिशतले महँगिएका छन्।
तर, तरकारी १२.७४ प्रतिशतले, मरमसलाको मूल्य ६.३१ प्रतिशतले र दाल तथा गेडागुडी ३.५८ प्रतिशतले घटेका छन्।
गैर–खाद्य तथा सेवा समूहमा भने विविध वस्तु तथा सेवाको मूल्य ११.७७ प्रतिशतले, शिक्षा ७.६७ प्रतिशतले, कपडा तथा जुत्ता–चप्पल ६.२९ प्रतिशतले, सुर्तीजन्य पदार्थ ४.८४ प्रतिशतले र फर्निसिङ तथा घरायसी उपकरण ४.५५ प्रतिशतले बढेका छन्।
त्यस्तै, बीमा तथा वित्तीय सेवा उप–समूहमा मूल्य ०.२२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
क्षेत्रगत रूपमा हेर्दा, ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क १.७३ प्रतिशतले र सहरी क्षेत्रमा १.९१ प्रतिशतले वृद्धि भएको छ।



कागजपत्र |
