
दिइसकेको सार्वजनिक बिदा काटियो, काठमाडाैं र ललितपुरका सरकारी कार्यालय आज खुल्ने
काठमाडौं – राजधानीका दुई जिल्ला काठमाडौँ र ललितपुरमा सोमबार (आज) का लागि दिइएको सार्वजनिक बिदा खारेज गरिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले आइतबार राति छुट्टाछुट्टै सूचना जारी गर्दै साेमबार असोज २० गते बिहान १० बजेदेखि सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सोमबार सरकारी कार्यालय खाेल्ने जनाएको हो ।
मौसमले बढाएको जोखिमका कारण सरकारले दिएको दुई दिनमध्येको बिदा एक दिन कटौती भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको गरेको सूचनामा सबै कार्यालय खोल्ने र सेवा सहज बनाउने उल्लेख छ।
‘दुई दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ (दुई) दिन सार्वजनिक विदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ’, सूचनामा भनिएको छ।’
त्यसैगरी ललितपुर प्रशासनले पनि गृह मन्त्रालयको निर्देशनअनुसार सोमबारदेखि सबै सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
यसअघि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूलाई सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएसँगै राजधानीका दुवै जिल्लामा बिदा खारेज गरिएको हो।
यससँगै काठमाडौँ र ललितपुरका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सोमबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुने भएका छन्।
मौसममा खराबी आएसँगै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको थियो।



कागजपत्र |
