काभ्रेका माझी समुदायले मनाए पितरा पर्व


काभ्रेपलान्चोक – काभ्रेपलाञ्चोकका माझी समुदायले ‘पितरा पर्व’ मनाएको छ। प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटिकाको भोलिपल्ट यो पर्व मनाउने गर्दछन्।

अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ। तर, माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन। अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो।

मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार एक वर्षको बिचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दशैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ। ‘यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्’, माझीले भने। उनले देशभरका माझी समुदायद्वारा बिहीबार साँझदेखि विधिपूर्वक यो पर्व मनाएको बताए।

स्थानीय ध्रुव माझीका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पुर्‍याई पितृहरूलाई निमन्त्रणा गर्न उनीहरूलाई विभिन्न बाहनमा चढेर आउन् भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायतका सवारीको चित्र कोरिन्छ। मृतात्मा तीनै सवारीसाधनमा चढेर आउँछन् भन्ने विश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृतिसमेत कोरिएको हुन्छ। पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’समेत गर्छन्।

पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नुपर्ने परम्परा रहँदै आएको छ। पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्छन्। यस कार्यका लागि माझीकै दुई बालिकाहरूलाई पुरोहितका रूपमा पुजिन्छ। उनीहरूलाई अन्य समुदायका व्यक्तिले छुन नहुने मान्यता छ।

पर्वका क्रममा मूलभोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरूकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतगाउने प्रचलन रहेको छ। बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाहअनुसार यदि चाहेमा मात्र आत्मालाई बोलाउने गरिएको माझीले बताए।

 

प्रतिक्रिया