विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन


काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गरेर उनले उक्त निर्देशन दिएका हुन् ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद् उद्धार सामग्री भण्डारको अवलोकन गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए ।

निरीक्षणपश्चात् आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले सीमित स्रोतसाधन र तालिमको कमीका बाबजुद पनि नेपाल प्रहरीले विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको कार्य प्रशंसनीय रहेको बताए ।

सम्भावित विपद्को जोखिमबाट हुनसक्ने जनधनको क्षति नियन्त्रण एवम् न्यूनीकरण गर्न कर्तव्यनिष्ठ भई उच्च मनोबलका साथ जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्नेगरी तयारी अवस्थामा रहन उनले निर्देशन पनि दिए ।

प्रतिक्रिया