भोलिदेखि इमाडोलमा खुल्ने भयो नेपालकै ठूलो थ्रीडी आर्ट म्युजियम


ललितपुर – ललितपुरको इमाडोलमा थ्रीडी आर्ट संग्राहालय खुल्ने भएको छ । नेपाली कलाकारहरुको कलाको संयोजनबाट खुल्न लागेको संग्राहालय आगामी बुधबारबाट सञ्चालनमा आउने भएको हो ।

नेपालै पहिलोपटक थ्रीडी आर्टको संयोजनमा वनडे थ्रीडी आर्ट रेष्टुरेन्ट सञ्चालन गरेको समूहले नै उक्त संग्रहालय सञ्चालनमा ल्याउन लागेको हो । वनडे थ्रीडी आर्ट वल्र्ड प्रा।लि।ले सञ्चालनमा ल्याउन लागेको संग्रहालयको (भोली) बुधबार बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसी, सन्दीप क्षेत्री, अञ्जु पन्त, टीका प्रसाइ, वर्षा राउतलगायतका कलाकारले उद्घाटन गर्ने कम्पनीका संस्थापक अध्यक्ष सुन्दर विष्टले बताए ।

‘संग्राहालयको सम्पूर्ण तयारी पूरा भईसकेको छ, बुधबारबाट सबैका लागि खुल्ला गरिनेछ,’ विष्टले भने । उनले लामो समयको कोरोनाका कारण कम्पनीको योजना अनुसार समयमै सञ्चालनमा ल्याउन नसकिएको बताए । कोरोना संक्रमणको कारण लकडाउनका कारण कम्पनीले समयमै काम गर्न नसकेकोले निर्धारित समयभन्दा करिब ६ महिनापछि सञ्चालनमा ल्याउन सकिएको विष्टले बताए ।

3d art (1)

ललितपुरको इमाडोलस्थित बचु हाइटमा निर्माण गरिएको संग्राहालय करिब चार रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त संग्राहालयमा थ्रीडी आर्टको माध्यमबाट विभिन्न प्राकृतिक, सांस्कृतिक एवं मनोरञ्जनात्मक दृश्यहरुलाई समेटिएको छ । कला र संस्कृतिको संयोजनमा सञ्चालनमा ल्याउन लागिएको उक्त संग्राहालयबाट विशेषगरी विद्यालय उमेरका बालबालिका लाभान्वित हुने पनि सञ्चालक विष्टले बताए । ‘साना उमेरका बालबालिकाका लागि विशेष स्थान बन्न सक्छ, जसले गर्दा कुनै पनि बालकले कल्पना गरेको कुरा यही संग्राहालयभित्रै पाउनसक्छ,’ विष्टले भने ।

उपत्यका नजिकैको गन्तव्यमा रहेको उक्त संग्राहालय विशेष गरी विद्यालयका बालबालिकाका साथै अभिभावकहरुको उत्कृष्ट गन्तव्य बन्ने विश्वास कम्पनीले लिएको छ ।

नेपाली कलाकारहरुको प्रयोग गरी निर्माण गरिएको उक्त संग्रहालय नेपालकै उत्कृष्ट थ्रीडी आर्ट संग्रहालय भएको कम्पनीका सञ्चालक एवं आर्ट कोअर्डिनेटर ओम प्रकाश क्षितिजले जनाए ।

3d art (2)

करिब ३ सय भन्दा बढी आर्टहरु समेटिएको संग्रहालयमा भ्रमण गर्न आउनेहरुका लागि फुड कोर्टका साथै अन्य मनोरञ्जनहरुको समेत व्यवस्था गरिएको जनाइएको छ । कुमारीपाटीमा रहेको वन डे थ्रीडी आर्ट रेष्टुरेन्टको व्यवस्थापन गरिरहेको कम्पनीले संग्राहालय परिसरमा पनि उत्कृष्ट र स्वादिष्ट खानाका लागि फुडकोर्टको व्यवस्था गरिएको जनाइएको छ ।

लकडाउनका कारणले संग्राहालय सञ्चालनमा ढिला भएको महसुस गरेको कम्पनीले लकडाउनकै कारण आर्थिक व्ययभार पनि ब्यहोरेको जनाइएको छ ।

‘करिब एक वर्षसम्मको अतिरिक्त घरभाडा, कलाकार र अन्य कामदारहरुको व्यवस्थापन गर्दा धेरै खर्च बढ्न गयो, खर्च जति भए पनि सञ्चालनमा ल्याउन पाउँदा खुशी लागेको छ,’ कम्पनीका सञ्चालक कृष्ण सुवेदीले बताए । कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआईसकेकोले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सञ्चालनमा ल्याउन लागिएको पनि सुवेदीले बताए ।

कम्पाउण्डभित्र नै प्रशस्त पार्किङको व्यवस्था रहेको उक्त संग्रहालयमा जानका लागि इमाडोलको कृष्ण मन्दिरबाट अगाडिको पुलिस बिटबाट पहिलो दायाँबाट हात्तिवन जाने बाटोमा रहेको जनाइएको छ ।

 

3d art (5)

प्रतिक्रिया