
सिन्धुपाल्चोकमा पहिरोमा परेर दुई बालिका बेपत्ता
सिन्धुपाल्चोक — जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघरतर्फ जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र पाँच वर्षीया मनमाया लामा रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
आज दिउँसो करिब ४:४५ बजे सडकमाथिबाट लेदो सहित आएको पहिरोमा परेर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।



कागजपत्र |
