बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध


एजेन्सी-  बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि  यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्‍याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ।

कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी क्षतिग्रस्त भएको बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टले बताउनुभयो। उहाँले यसलाई भूमिगत रेल स्टेशन निर्माण कार्यसँग जोडेर दुर्घटनाको कारण हुनसक्ने बताए।

दुर्घटनाको भिडियोमा सडक क्रमशः भासिँदै बिजुलीका खम्बा ढल्दै र पानी पाइप फुटेको देखिन्छ। चार लेनको सडक पूर्ण रूपमा अवरुद्ध भएपछि कारहरू पछि हट्न बाध्य भएका छन्। खाडलको किनारा भूमिगत संरचना उजागर गर्दै प्रहरी चौकीको अगाडि नै रोकिएको छ।

नजिकैको अस्पतालमा दुई दिन बहिरङ्ग सेवा (ओपिडी) बन्द हुने घोषणा गरिएको छ। यद्यपि भवनको संरचनामा असर नपरेको बताइए पनि प्रहरी चौकी र आसपासका घरहरूबाट मानिसहरूलाई बाहिर निकालिएको छ।

क्षेत्रको बिजुली र पानी आपूर्ति पनि काटिएको छ। भारी वर्षाले थप क्षति पुर्‍याउन सक्ने आशङ्का बीच तत्काल मर्मत कार्य भइरहेको गभर्नर चाडचार्टले जानकारी दिए।

प्रतिक्रिया