रास्वपाको वेबसाइट ह्याक गरेर रवि लामिछानेमाथि आक्रमण


काठमाडाैं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक वेबसाइट ह्याकर समूह ‘जेनजी राइजिङ नेपाल’ ले नियन्त्रणमा लिएको छ। एसक्यूएल इन्जेक्सन आक्रमणमार्फत वेबसाइटको ‘प्रेस विज्ञप्ति’ सेक्सन कब्जा गरेर ह्याकरहरुले आफ्नो सन्देश सार्वजनिक गरेका हुन्।

ह्याकर समूहले  जेनजी विद्रोहका क्रममा रास्वपाले हिरासतमा रहेका सभापति रवि लामिछानेलाई बाहिर ल्याएको घटनाको बदला स्वरूप वेबसाइट नियन्त्रणमा लिइएको दाबी गरेको छ। सन्देशमा पार्टीलाई “पुरानै युगलाई भविष्य ठान्ने राजनीतिक तमासा” भनेर आलोचना गरिएको छ।

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सन्देशमा भनिएको छ, “रवि लामिछाने ~ दोहोरो नागरिकता भएका उही व्यक्ति ~ जो हालै जेनजी आन्दोलनको सहारामा कानुनी कारबाहीबाट उम्किए।” त्यस्तै, लामिछानेमाथि शङ्कास्पद आर्थिक लेनदेन लुकाउन पार्टीको सम्पूर्ण उर्जा खर्च भइरहेको आरोप लगाइएको छ।

सन्देशमा अझ भनिएको छ, “हे नेपाल, भेट ‘नयाँ राजनीति’ लाई ~ जहाँ प्रपञ्च उही पुरानो छ, बस आवरण चम्किलो छ। जेनजीले यो सब देखिरहेको छ। हामी न क्षमा दिन्छौँ, न बिर्सन्छौँ। हाम्रो आगमनको अपेक्षा गर।”

यस घटनाबारे रास्वपा वा रवि लामिछानेको तर्फबाट आधिकारिक प्रतिक्रिया अहिलेसम्म आएको छैन। वेबसाइट सुरक्षाबारे प्राविधिक जाँच भइरहेको बताइएको छ।

प्रतिक्रिया