
तनहुँबाट धनुषा जाँदै गरेको सेनाको ट्रक पुलबाट खस्यो, १६ सैनिक घाइते
मकवानपुर– बारा सिमानामा पर्ने हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईमा मंगलबार दिउँसो नेपाली सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जना सैनिक घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
तनहुँस्थित नं. २ राजदल गणबाट धनुषातर्फ जाँदै गरेको लु १ ग २८० नम्बरको ट्रक पुलबाट करिब १०–१५ मिटर तल खोल्सामा खसेको हो। दुर्घटनाग्रस्त ट्रकमा २२ जना सैनिक सवार थिए।
उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा गइरहेका चार वटा सेनाका ट्रकमध्ये एक ट्रक दुर्घटनामा परेको हो। दिउँसो करिब २:५० बजे भएको दुर्घटनापछि मकवानपुर प्रहरी र बारा प्रहरीसँगै सेनाले तत्काल उद्धार कार्य थालेका थिए।
घाइते सबैलाई हेटौंडा अस्पतालमा उपचारका लागि लगिएको छ। गम्भीर घाइते तीन जनाको पहिचान खुल्न बाँकी छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



कागजपत्र |
