
मन्त्रिपरिषद् ११ जना सम्मको हुन्छः प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् १० देखि ११ जना सदस्यीय हुने बताएकी छन्।
प्रधानमन्त्री कार्कीले बीबीसी नेपालीसँग कुरा गर्दै मन्त्रिपरिषद् निर्दलीय हुने पनि बताइन्।
साथै उनले मन्त्रिपरिषद्मा निर्वाचनमा नजाने, स्वतन्त्र चरित्रका व्यक्तिलाई चयन गरिने बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘संविधानमा तोकिएको समावेशीका आधारमा मन्त्रिपरिषद् चयन गरिनेछ।’
आफ्नो मुख्य उद्देश्य निर्वाचन गराउनु रहेकाले खुसीसाथ सहयोग गर्न आउने व्यक्तिलाई मन्त्री बनाइने उनको भनाइ छ। आफूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सबै दलका एकएकजना राखेर मन्त्रिपरिषद् बृहत् बनाउन सल्लाह दिए पनि आफूलाई त्यसलाई अस्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ।
उनले क्षमताका आधारमा मन्त्री बनाइने योजना पनि सुनाएकी छन्। आफ्नो म्यान्डेट निर्वाचन गराउनु र सुशासन कायम गर्नु रहेको प्रधानमन्त्री कार्कीले बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘मन्त्री बन्नका लागि धेरैजनाको नाम आएकाले एकदुई दिनमै टुंग्याइनेछ।’



कागजपत्र |
