
प्रधानमन्त्री सुशीलासँग तस्बिर खिचाउनेमा ‘ठग’देखि सुमनासम्म !
काठमाडौं – जेनजी आन्दोलनबाट मुलुकले नयाँ कार्यभारसहित नयाँ प्रधानमन्त्री पायो । पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहासमा नाम लेखाएकी सुशीला कार्कीले पुनः अर्कोपटक पहिलो बन्ने अवसर पाइन्, त्यो पनि सरकार प्रमुखको रुपमा ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएकै शितलनिवासबाट नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कार्कीलाई सपथ गराए ।
सपथपछि प्रधानमन्त्री कार्कीसँग तस्बिर खिचाउने क्रममा एउटा फरक दृश्य देखियो, जेनजीका संयोजक मानिएका सुदन गुरुङले पहिला सुशीला कार्कीको गोडा ढोगे । त्यस क्षणको तस्बिर हेरेका अधिकांशले उनको सादगीको प्रशंसा गरिरहेका छन् । उनी आफू जेनजी पुस्ताका नभए पनि जेनजीहरुको नेतृत्व गरेर परिपक्वता देखाए । जसले चाहेको भए आँफैं प्रधानमन्त्रीसम्म पनि बन्न सक्ने सम्भावना रहेका बेला सुशीलालाई प्रधानमन्त्री बनाएर ठूलो त्याग गरेका छन् ।
तर, तस्बिर खिचाउने क्रममा जेनजीका सहसंयोजक भनिएका अर्जुन बहादुर शाही पनि सँगै देखिए, त्यसले भने जेनजी पुस्तामा पनि शंका गर्ने ठाउँ देखिएको छ ।
शाही उनै हुन्, काठमाडौं प्रहरी परिसरमा ठगी गरेको अभियोगमा मुद्दा दर्ता भएका व्यक्ति । उनीविरुद्ध ठगीकै आरोपमा अनुसन्धानका लागि मुद्दा दर्ता भएको थियो । त्यसबाहेक उनी २०८१ मा भएको इलाम उपनिर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति थिए । त्यतिबेला उनले ५५ मत मात्रै प्राप्त गरेका थिए ।
त्यसबाहेक सामूहिक तस्बिर खिचाउनेको लाइनमा उनै शाहीपछि रास्वपाकी तत्कालिन सांसद सुमना श्रेष्ठ पनि देखिइन् । उता, नक्कली चिठीकै भरमा ‘प्रक्रिया पुर्याएर’ जेलबाट निस्किएका सभापति रवि लामिछानेमाथि कीर्ते प्रकरणमा पनि मुद्दा चल्ने सम्भावना देखिइरहँदा कुनै समय उनकै पार्टीकी सहमहामन्त्री रहेकी सुमना श्रेष्ठ पनि एउटै लहरमा देखिइन् ।
दुई दिनको आन्दोलनबाट मुलुकको सत्ता पल्टाउन सफल जेनजी पुस्तामा यस्ता किसिमका व्यक्तिहरुले स्थान पाउँदा के होला त्यो प्रश्न उठेको छ ।
शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको जेन्जी पुस्ताले घुसपैठका कारण आगजनी र विध्वंशकारीको ट्याग भिरिरहेको अहिलेको अवस्थामा पुनः यस्ता व्यक्तिहरुको सहभागीले थप आलोचना ब्यहोरेको छ । त्यसैले आम जेनजी पुस्ताले आफ्नै नेतृत्वमा कस्ता व्यक्तिहरु छन् भन्ने कुराको यकिन गर्नुपर्नेछ । छोटोसमयमा सत्ता पल्टाएको जेनजी यस्तै प्रवृत्ति र इतिहास भएका व्यक्तिहरुको प्रत्यक्ष संलग्नताले छोटै समयमा विलयमा नजाला भन्न सकिँदैन ।



कागजपत्र |

