
जेन-जी पुस्ताको आन्दोलनमा बालेनकाे समर्थन
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सोमबार माइतीघरमा आयोजना हुने जेन–जी पुस्ताको स्वतःस्फूर्त र्यालीलाई समर्थन जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन व्यक्त गर्दै उनले भने, “भोलिको र्याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजीको हो। उहाँहरू २८ वर्ष मुनिका हुनुहुन्छ, जसका लागि म पनि अझै बुडो देखिन्छु। मलाई उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्नु मन छ।”
बालेनले राजनीतिक दल, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताहरूलाई र्यालीलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसर नबनाउन आग्रह गरेका छन्। उमेर हदबन्दीका कारण आफू उपस्थित हुन नसक्ने भए पनि उनी जेन–जीको आवाज सुन्ने र बुझ्ने महत्त्वपूर्ण आवश्यकता औंल्याउँछन्।
उनले थप प्रश्न गर्दै भने, “प्रिय जेनजी, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?” मेयर शाहको यो खुला समर्थनले युवा पुस्ता र सामाजिक सञ्जालमा बहसलाई थप तातो बनाउने अनुमान गरिएको छ।
सोमबार राजधानी काठमाडौंसहित देशभर स्वतःस्फूर्त रूपमा आह्वान गरिएको जेन–जी आन्दोलनमा बालेनको समर्थनले कार्यक्रमको महत्व अझै बढाएको छ।



कागजपत्र |
