सातै प्रदेशका उत्कृष्ट शिक्षक सम्मानित


काठमाडौं- सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने सातै प्रदेशका उत्कृष्ट शिक्षकलाई शुक्रबार सम्मान गरिएको छ।

पीपी प्रसाई फाउण्डेसनले प्रतिस्पर्धामार्फत छनोट भएका सात शिक्षकलाई नगदसहित सम्मान प्रदान गरेको हो। पुरस्कृत शिक्षकहरूमा इलामको फिक्कल माविका केशवराज कट्टेल, पर्साको अजिज मियाँ माविका जितेन्द्र राम, काठमाडौंको जनउद्धार माविकी अप्सराकुमारी घिमिरे, तनहुँको राधा माविका विष्णु घिमिरे, बर्दियाको राधाकृष्ण थारु माविका प्रभात सुवेदी, जुम्लाको कर्णाली माविका देवेन्द्र तिमिल्सिना उपाध्याय र कैलालीको धनगढी नमुना प्राविधिक विद्यालयका हेमराज विष्ट रहेका छन्।

उनीहरूलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् प्रा. केदारभक्त माथेमाले खाँदा लगाएर सम्मान गरेका थिए। पुरस्कृत शिक्षकलाई जनही ५० हजार रुपैयाँ नगद तथा उनीहरू अध्यापनरत विद्यालयलाई १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको फाउण्डेसनले जनाएको छ।

यसैगरी भक्तपुरको सूर्यविनायकस्थित देवी आधारभूत विद्यालयलाई सुधारका प्रयासका लागि १ लाख रुपैयाँ राशिको उत्कृष्ट प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको कदरमा पूर्वसचिव दिपेन्द्रपुरुष ढकाललाई ‘पीपी प्रसाई टुरिज्म लाइफटाइम अचिभमेन्ट अवार्ड २०२५’ बाट सम्मान गरिएको अध्यक्ष शिखर प्रसाईले जानकारी दिए।

देशभरबाट उत्कृष्ट विद्यालय र शिक्षक छनोटका लागि आवेदन आह्वान गरिएको थियो। ज्ञानोदय मावि काठमाडौंका पूर्वप्रधानाध्यापक धनञ्जय शर्माको नेतृत्वमा रहेको विज्ञ टोलीले शिक्षकको शिक्षण शैली, विद्यार्थीको सिकाइ उपलब्धि, समुदायसँगको सम्बन्ध, पेशाप्रतिको समर्पण लगायतका मापदण्डका आधारमा मूल्यांकन गरेको हो।

 

प्रतिक्रिया