
बजेट विनियोजनमा सरकारले कर्णाली देख्दैन, झापामात्र देख्छः सांसद लामा
काठमाडौं – नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले बजेटमा कर्णालीलाई बेवास्ता गरिएको भन्दै सरकारप्रति कटाक्ष गरेकी छन्।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले बजेट विनियोजन गर्ने समयमा सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापालाई मात्र नेपाल देख्ने गरेको टिप्पणी गरिन्।
उनले कर्णाली क्षेत्रका सडकलगायत भौतिक पूर्वाधारमा पर्याप्त स्रोत नछुट्याएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले कर्णालीको विकास नगरी समृद्ध नेपाल सम्भव नरहेको कुरा आफूहरूले उठाउँदै आए पनि सरकारले नसुनेको बताइन्।
तामाङले भनिन्, ‘सरकारले बजेट विनियोजन गर्दा झापालाई मात्रै नेपाल देख्छ। कर्णाली भनेको नेपालसहितको भूगोल हो, कर्णालीको विकास नगरी समृद्ध नेपाल बन्दैन भनेर पटक पटक भनिरहेका छौँ। प्रधानमन्त्रीले कार्यकर्ताको मगन्ते कुरा सुन्दै कर्णालीको विकासबारे गलत व्याख्या गर्नुहुन्छ।’
उनले प्रधानमन्त्री ओलीले कर्णालीको विकासबारे अधुरा तथ्यका आधारमा धारणा बनाएको भन्दै आपत्ति जनाइन्।



कागजपत्र |
