
इलाममा पहिलो पटक कालो चितुवा देखियो
इलाम– इलामको सूर्योदय नगरपालिका–२, बागवीरेमा पहिलो पटक कालो चितुवा देखिएको छ । सोही चितुवाले सोमबार बिहान टङ्क काफ्लेका तीन वटा बाख्रा खाएको अवस्थामा फेला परेको छ ।
स्थानीय लालीगुराँस टोल विकास समितिका अध्यक्ष राजु घिमिरेका अनुसार काफ्लेको खोरमा रहेका दुई वटा माउ र एउटा पाठो बाख्रा चितुवाले खाएको हो । ‘‘घाँस हाल्न जाँदा खोरमै अघाएर सुतिरहेको चितुवा भेटियो, कालो रंग भएकाले दुर्लभ प्रजाति हो भन्ने लागेर तुरुन्तै प्रहरी–प्रशासनलाई खबर गरियो,’’ उनले भने ।
घिमिरेका अनुसार पछिल्लो एक महिनामै यस क्षेत्रमा सातवटा बाख्रा चितुवाले मारेको छ । केही हप्ता अघि आफ्नै दुई बाख्रा समेत चितुवाले खाएको उनले स्मरण गरे । यस अवधिमा माईजोगमाई–२ का शेरबहादुर गुरुङ, मूल खर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काका बाख्रा समेत चितुवाको आहारा बनेका छन् ।
हाल खोरमै फेला परेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले अस्थायी रूपमा खोर वरिपरि कपडाले बेरेर नियन्त्रणमा राखेको छ ।
साहका अनुसार यो चितुवा कोशी प्रदेशमै पहिलो पटक भेटिएको हो । ‘‘यसअघि काभ्रेमा भेटिएको थियो, त्यसपछि कतै देखिएको तथ्याङ्क छैन । अब उद्धारपछि थप अनुसन्धान हुनेछ,’’ उनले बताए ।



कागजपत्र |
