
महिनावारी बार्न पाल टाँगेर सुतेका २ जनाको ढुंगाले च्यापेर मृत्यु, अर्की एक महिला घाइते
कैलाली — अछाममा महिनावारी बार्न खेतमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा शुक्रबार बिहान करिब ५ः३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन्। घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्।
उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचारका लागि सुर्खेत रेफर गरिएकोले लैजाने तयारी भइरहेको वडाध्यक्ष छत्रबहादुर शाहीले कागजपत्रसँग बताए । रत्नाको टाउकोमा चोट लागेपछि अहिलेसम्म बोलिरहेको पनि शाहीले जनाए ।
अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई ढुङ्गाले लागेको थियो । ती मध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको र अहिले आफू पनि घटनास्थलमै रहेको वडाध्यक्ष शाहीले जनाए ।



कागजपत्र |
