
दुर्घटना रोक्न मुख्यमन्त्री बानियाँको अभियान- ‘हेल्मेट बिना पेट्रोल पाइँदैन’
हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना नियन्त्रण र ट्राफिक सचेतना अभिवृद्धिका लागि तत्काल ठोस कदम चाल्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
बुधबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष बैठकमा उनले प्रदेशभित्र बढ्दै गएको सवारी दुर्घटनाबारे नेपाल प्रहरी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनले प्रस्तुत गरेको प्रतिवेदन सुनेपछि यस्तो निर्देशन दिएका हुन्।
मुख्यमन्त्री बानियाँले सबै सरोकारवाला निकायहरूलाई समन्वयात्मक ढंगले परिचालित भई दुर्घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न आह्वान गरे। उनले मादक पदार्थ सेवन परीक्षणलाई नियमित गर्ने, दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताका लागि हेल्मेट अनिवार्य गर्ने र ‘हेल्मेट बिना पेट्रोल पाइँदैन’ अभियान तत्काल लागू गर्न आदेश दिए।
यस अभियानलाई कार्यान्वयन गर्न नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय संघ, बागमती प्रदेशसँग पत्राचार गरी सबै पेट्रोल पम्पमा ‘हेल्मेट बिना इन्धन पाइँदैन’ भन्ने बोर्ड राख्ने तयारी गरिएको छ। साथै, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत निगरानी गर्ने व्यवस्था मिलाइने भएको छ।



कागजपत्र |
