
ओलीसँगै चीन जाने टोलीमा मन्त्री, सांसद र सल्लाहकार पनि
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते पाँच दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्ने भएका छन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्णबहादुर खड्का र छबिलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनेछन्।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार, प्रधानमन्त्री ओलीले भदौ १५ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तियानजिनमा भेटवार्ता गर्नेछन्। सोही क्रममा भदौ १६ गते हुने शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले अन्य मुलुकका शीर्ष नेताहरूसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। त्यसपछि उनले भदौ १७ गते बेइजिङमा चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।



कागजपत्र |
