
तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीक पर्व भएको बताएका छन्।
हरितालिका तीजको अवसरमा शुभकामना दिँदै उनले परिवार तथा समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता, मेलमिलाप, निष्ठा, धैर्य र समर्पण कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क गरेका छन्। उनले महिलाविरुद्ध हुनसक्ने भेदभाव, हिंसाजन्य कार्यलगायत सबै किसिमका अन्याय अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्न तीज पर्वले उत्साह दिने अपेक्षा लिएका छन्।
राष्ट्रपति पौडेलले आदर्शमय तथा एकतात्मक सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै अझ समुन्नत बनाउन यस्ता मौलिक पर्वको गरिमालाई कायम राख्न पनि सबैमा आग्रह गरेका छन्।



कागजपत्र |
