
चाबहिल क्षेत्रमा आतंक मच्चाउने ‘टोले गुण्डा’ अर्थात् मिटरब्याजी रेश लामा
काठमाडौं– दोलखाको बैत्येश्वर गाउँपालिका–३ स्थायी ठेगाना भएका गोपाल मोक्तान, जसलाई काठमाडौंमा सबैले ‘रेस लामा’ भनेर चिन्छन्। ठूलो ज्यान भएका उनी दिनमा केटाहरुसँग समूह बनाएर २/३ पटक टिकटक बनाएर पोष्ट गर्थे ।
दिनभरी सुकेधारामा बसिरहने उनले चाबहिल, गौशाला र बत्तिस पुतली क्षेत्रमा गुण्डागर्दी गर्दै आएका थिए । ती क्षेत्रमा उनले मानव त्रास मच्चाउँदै विभिन्न व्यक्तिलाई धम्की र आक्रमण गर्ने गरेको लामो समयदेखि स्थानीयहरूले गुनासो गर्दै आएका थिए।
विशेषगरी कानुनविपरीत मिटरब्याजको काम गर्दै आएका उनले विभिन्न धाकधम्की दिएर मान्छे तर्साउने काम गर्छन् । एक पीडितका अनुसार उनले लाखौं रकम लिएर महिनौंसम्म पनि फिर्ता नगरेको तर पैसा फिर्ता माग्दा ज्यान मार्नेसम्मको धम्की दिँदै आएका थिए । ‘रकम लगेर सम्पर्कविहीन भइदिने । कसैगरी सम्पर्क गर्न खोज्दा ज्यान मार्ने धम्की दिन्थे’ उनले भने । उनी जस्तै रेश लामाले धैरैजनासँग रकम सापटी लिएका छन् । तर फिर्ता माग्दा धम्की दिन्छन् । साथै उनी क्रिप्टो कारोबार तथा लुटपाट जस्ता अवैध काममा सक्रिय रहेको खुलेको छ।।
उनै ‘टोले गुण्डा’ लामालाई प्रहरी वृत्त, गौशालाको टोलीले हिजो चाबहिलबाट समातेको छ । लामालाई प्रहरीले काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट पक्राउ गरेको हो । उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । प्रहरी वृत्त गौशालाले अभद्र व्यहारको कसुरमा पक्राउ पुर्जी लिएर मोक्तानलाई पक्राउ गरेको हो ।
उनको आपराधिक करियर नयाँ होइन। २०८१ माघ २४ मा तरबारले केक काटेर टिकटकमा भिडियो पोस्ट गरेर आतंक मच्चाएको आरोपमा उनी ६ महिनाका लागि पक्राउ परेका थिए। त्यस बेला रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङसहित उनी सातैजनालाई नियन्त्रणमा लिइएको थियो।



कागजपत्र |
