दक्षिण अफ्रिका २७६ रनले पराजित, अस्ट्रेलियाको इतिहासमै ठूलो जित


काठमाडाैं- तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनले पराजित गरेको छ।

यो हार दक्षिण अफ्रिकाको एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो हार हो। यसअघि २०२३ मा दक्षिण अफ्रिकाले भारतसँग कोलकातामा २४३ रनको हार बेहोरेको थियो।

यस्तै, यो अस्ट्रेलियाको एकदिवसीय क्रिकेटमा दोस्रो सबैभन्दा ठूलो जित हो। सन् २०२३ मा दिल्लीमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनले हराएको थियो।

अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले २४.५ ओभरमै १५५ रनमा सबै विकेट गुमायो। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले सर्वाधिक ४९ रन बनाए भने अस्ट्रेलियाका कूपर कोनोलीले ६ ओभरमा २२ रन खर्चिँदै ५ विकेट लिए।

यससँगै कूपर एकदिवसीयमा ५ विकेट लिने सबैभन्दा कान्छा अस्ट्रेलियाली बलर बनेका छन्। साथै, यो अस्ट्रेलियाली स्पिनरको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन पनि हो।

यसअघि म्याकायमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा केवल २ विकेट गुमाएर ४३१ रन बनाएको थियो। यो अस्ट्रेलियाले बनाएको दोस्रो ठूलो एकदिवसीय स्कोर हो। यसअघि २००६ मा जोहानसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाले ४३४ रन बनाएको थियो।

अस्ट्रेलियाका ट्राभिस हेड, कप्तान मिचेल मार्श र क्यामरन ग्रीनले शतक प्रहार गरे भने एलेक्स केरीले अर्धशतक जोडे। दक्षिण अफ्रिकाका केशव महाराज र सेनुरन मुथुस्वामीले एक–एक विकेट लिए।

यद्यपि, तीन खेलको एकदिवसीय शृङ्खला भने यसअघि नै दक्षिण अफ्रिकाले जितिसकेको छ। दक्षिण अफ्रिका पहिलो खेलमा ९८ रनले र दोस्रो खेलमा ८४ रनले विजयी भएको थियो।

प्रतिक्रिया