
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
काठमाडौं– एक वर्षको अवधिमा नेपालमा १७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कअनुसार, रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। यस्तै, २०८२ असार महिनाको विप्रेषण आप्रवाह १८९ अर्ब ११ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह ११७ अर्ब ७८ करोड रहेको थियो।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यसले १४.५ प्रतिशत वृद्धि गरेको थियो।
यस्तै, समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १५७१ अर्ब २४ करोड रुपैयाँ थियो।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५ लाख ५ हजार ९५७ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ३३ हजार ३०९ रहेको छ। अघिल्लो वर्ष यस सङ्ख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो।



कागजपत्र |
