लिपुलेकमाथि नेपालले गरेको दाबी भारतद्वारा अस्वीकार


नयाँ दिल्ली – भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ। लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले बुधबार आफ्नो धारणा सार्वजनिक गरेपछि जवाफमा भारतले धारणा सार्वजनिक गरेको हो।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक व्यापार मार्गबारे भारतको अडान स्पष्ट र दीर्घकालीन रहेको बताए।

उनले भने, ‘लिपुलेक हुँदै भारत-चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। पछिल्ला वर्षमा कोभिड र अन्य कारणले यो व्यापार प्रभावित भए पनि अहिले पुनः सुरु गर्ने दुवै पक्षबीच सहमति भएको छ।’

लिपुलेकमा नेपालको भौगोलिक दाबीलाई पनि उनले अस्वीकार गरिदिएका छन्। ‘यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’, उनले नेपालको नाम उल्लेख नगरी भनेका छन्।

प्रतिक्रिया