विमानस्थलमा १२ नेपालीको शव बुझ्न जाँदा भावुक भए बाबुराम


काठमाडौं – आइतबार बिहान पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष समेत रहेका डा. भट्टराई विमानस्थल पुग्नुको कारण अन्य समयभन्दा बेग्लै थियो।

वैदेशिक रोजजारीमा गएका १२ जना नेपालीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदै थियो। सोही खबर पाएपछि शव बुझ्न आएका आफन्तलाई भेट्न डा. भट्टराई विमानस्थल पुगेका हुन्।

गोरखा सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ बर्ष) को पनि शव आउँदै थियो। आफ्नै निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन डा. भट्टराई विमानस्थल पुगेका हुन्।

भट्टराईका सहयोगी रोशन पाण्डेका अनुसार शनिबार दिउँसो नै वैदेशिक रोजगारीमा मलेसिया गएका १२ नेपालीको शव आज नेपाल आउने जानकारी थियो। त्यसपछि शव लिन गोरखाबाट आएका आफन्तलाई भेट्न उनी विमानस्थल पुगेका हुन्।

विमानस्थलमा १२ जनाको शव आफन्तहरुले बुझेपछि डा.भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’ पूर्वप्रधानमन्त्री भट्टराईले रोजगारीमा गएका नेपालीको बाकसमा फर्किनुपरेको भन्दै दुख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कस्तो दुःखद अवस्था। वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवाहरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो। तीमध्ये गोरखा सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२ का मेघबहादुर कुँवर (२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’

यसरी दिनहुँ ३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशिँदा काठको बाकसमा फर्किनुपरेको छ। गत एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली काठको बाकसमा फर्किए। अवैधानिक रुपमा गएर मृत्यु हुने कामदारको संख्या यसमा जोडिएको छैन।

एकातिर सरकारले विभिन्न देशमा लाखौं रोजगारी सिर्जना गर्ने बताइरहेको छ, अर्कोतिर रोजगारीकै लागि विदेशिएका युवाहरु यसरी मृत्युवरण गरिरहेका छन्। त्रिभुवन विमानस्थलमा दैनिक ३ नेपालीहरु बन्द बाकसमा आउँछन् भन्ने तथ्यांक पनि पुरानो भइसक्यो।

विदेशमा मृत्युवरण गर्नेका परिवारलाई केही रकम क्षतिपूर्ति दिएर सरकारले आफ्नो ‘कर्तव्य’ पूरा गरेको ठानिरहेको छ । तर, क्षतिपूर्तिको सानो रकमले त्यो परिवारमाथि लागेको घाउमा के मल्हमपट्टि लगाउन सक्थ्यो?

किन हुन्छ मृत्यु ?
विदेशमा धेरैले ‘कार्डिक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ। दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिक एरेष्टको शिकार हुने गरेका छन्।

त्यसैगरी मादक पदार्थका रुपमा विभिन्न केमिकलहरु मिसाएर खाने तथा एकैपटक धेरै मात्रामा रक्सी खानेलगायतका कारण पनि हृदयाघात हुने गर्छ। हृदयाघातका कारण पनि विदेशमा धेरै नेपालीले मृत्युवरण गर्नुपर्छ।

असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनावका कारण नेपालीहरु विदेशमा हृदयघातको शिकार हुने गर्छन्। यस्तै ट्राफिक नियमबारे जान्न र त्यसको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीहरुले सडक दुर्घटनामा परी मृत्यु अंगाल्नुपरेको छ।

रोजगारीमा गएका नेपालीहरु अपराधको शिकार पनि बन्ने गरेका छन्। लुटपाटमा संलग्न हुने समूहबाट तथा व्यक्तिगत रिसिईवीमा पनि हत्याका घटना हुने गरेका छन्। नेपाली–नेपाली तथा अन्य देशका कामदारसँग झगडा गरेर पनि धेरै नेपालीले ज्यान गुमाउने गरेका छन्।

प्रतिक्रिया