हिमचितुवा घिमिरे किक बक्सिङ हिट ४८ मा भिड्ने


काठमाडौं – विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तर्राष्ट्रिय व्यावसायिक प्रोफेसनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन् । कम उमेर सो प्रतियोगिता खेल्ने उनी पहिलो बक्सर हुन् ।

जापानको नागोया शहरमा अवस्थित नागोया कङग्रेस हलमा आगामी वैशाख १२ गते सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछ ।हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरलले यही चैत १५ गते ‘के वान फेस्टिभल २०२१’ को उपाधि चुमेका थिए ।

जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाएको थियो । सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडी समेत बनेका थिए ।

दश हजारभन्दा बढी जापानीले विश्व चर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’समेत भएका थिए।

एक्काइस वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनु परेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया शहरमा बस्दै आएका थिए ।

वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारी अनुसार अबिरलले हालसम्म १६ भन्दाबढी व्यावसायिक किक बक्सिङमा भिडन्त गरिसकेका छन् । तीमध्ये अधिकांश खेलमा सर्वप्रथम भई विश्वकीर्तिमान कायम गर्न सफल भएको छ । युवा बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुमेका थिए ।

रादा जापानका चर्चित व्यावसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए । यसैगरी उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए ।

रोमाञ्जकारी सो भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो । अविरलले हालसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुईपटक च्याम्पियन तथा हालसम्म १४ खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका छन् ।

तीमध्ये नौ अन्तरराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तर्राष्ट्रिय स्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा सञ्चालनसमेत रहेका रामनारायणले जानकारी दिए ।

प्रतिक्रिया