
उम्किन पाउलान् पूर्वमन्त्री बाँस्कोटा?
काठमाडौं– सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैंया मोलमोलाई गरेको अभियोग लागेका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध १६ कात्तिक अर्थात् आइतबार प्रमाणको पोको बोकेर अभियोगकर्ता विजयप्रकाश मिश्र अदालत र अख्तियार पुग्ने भएका छन्।
अदालतमा आफूसँग भएका प्रमाण पेस गरी प्रक्रियालाई सहयोग गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ति प्रमाण बुझाउने मिश्रले बताएका छन्। दशैं मनाउनका निम्ति जापानबाट उनी काठमाडौं आइसकेका छन्।
पूर्वमन्त्री बास्कोटाले जिल्ला अदालत काठमाडौंमा गत फागुन १६ गते मिश्रविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता गराएका थिए। मुद्दा दर्ता गर्दा मिश्रको घर लमजुङको सुन्दरबजार नगरपालिका–७ भनिएको थियो।
अख्तियारले पनि मिश्रलाई हाजिर हुनका लागि पत्र लेखेको थियो। त्यसबेला उनी जापानमा थिए। अख्तियरलाई मिलाएर बास्कोटाविरुद्धको भ्रष्टाचारको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको आरोप लाग्दै आएको छ। मिश्र प्रमाण बोकेर अख्तियार पुगे बास्कोटा उम्किन पाउँछन् या पाउँदैनन् भन्ने चासो सर्वत्र छ।
२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए। सो लगत्तै बास्कोटासँग बार्गेनिङ गरिएको अडियो लिक भएको थियो।
बास्कोटाले उक्त प्रकरणमा छेडखानी गरिएको र अभियोग प्रमाणित भए राजनीति नै छाड्ने चुनौति दिँदै आएका छन्।



कागजपत्र |
