कामदारहरूलाई बोतलमा पिसाब फेर्न बाध्य बनाएको सन्दर्भमा अमेजनले माग्यो क्षमा


अमेजन – अमेजनले आफ्ना कर्मचारीहरू बोतलमा पिसाब फेर्न बाध्य भएको भन्ने अस्वीकार गरेको थियो तर पछि त्यस्तो गर्ने गरिएको तथ्यहरू सार्वजनिक भएका थिए ।

अनलाइनको विशाल विक्रेता अमेजनले उसका चालकहरू बेलाबेलामा प्लास्टिकका बोतलमा पिसाब फेर्न बाध्य रहेको भन्ने विषयमा झुटो बोलेकोमा एकजना अमेरिकी राजनीतिकर्मीसमक्ष माफी मागेको छ।

विस्कन्सिनबाट प्रतिनिधित्व गर्ने डेमोक्र्याटिक पार्टीका नेता मार्क पोकनले ‘अमेजनले आफ्ना कर्मचारीलाई पानीको बोतलमा पिसाब फेर्न’ लगाएको भन्दै ट्वीट गरेका थिए। त्यसपछि अमेजनको औपचारिक ट्विटर अकाउन्टबाट जबाफमा भनिएको थियो, ‘यदि त्यो साँचो हुँदो हो त हाम्रा लागि कोही काम गर्ने थिएन।’

तर चालकहरूले बोतलमा पिसाब फेर्नुपरेको प्रमाण सार्वजनिक हुन थालेपछि अमेजनले अहिले माफी मागेको छ। अमेजनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जनप्रतिनिधि पोकनसँग हामी माफी माग्छौँ।’ ‘हाम्रो ट्वीट सही थिएन। त्यसले ठूलो सङ्ख्यामा रहेका चालकहरूबारे सही कुरा गरेन। हामी हाम्रा विभिन्न सामग्री राखिने केन्द्रहरूमा केन्द्रित भयौँ।’

उनले त्यस्ता केन्द्रहरूमा दर्जनौँ शौचालयहरू रहेको र कर्मचारीले ‘जुनसुकै समयमा’ ती प्रयोग गर्न पाउने बताएको छ।


अमेजनले उसको अलाबामास्थित एउटा प्रमुख केन्द्रमा कर्मचारीहरूले युनियन बनाउन गरेको प्रयत्नको विरोध गरेको भन्दै पोकनले आलोचना गरेका थिए।

उनले गत हप्ता लेखेका थिए, ‘युनियन बनाउन नदिने र कामदारलाई पानीको बोतलमा पिसाब फेर्न लगाउने एमेजन ‘कर्मचारीलाई प्रति घण्टा १५ डलर दिँदैमा ‘प्रगतिशील कार्यस्थल’ हुँदैन।

त्यसलगत्तै अमेजनको औपचारिक अकाउन्टबाट प्रतिक्रिया आएको थियो, ‘बोतलमा पिसाब फेर्ने कुरालाई तपाईँ विश्वास गर्न सक्नुहुन्न, सक्नुहुन्छ त? यदि त्यो साँचो हुँदो हो त हाम्रा लागि काम गर्ने कोही पनि हुँदैनथ्यो।’

त्यसपछि कैयौँ मिडियामा कैयौँ अमेजन कर्मचारीले कामका बेला कुनै विकल्प नभएपछि प्लास्टिक बोतलमा पिसाब फेर्नुपर्ने बाध्यतामा पर्ने गरेको भन्ने समाचार छापिएका थिए। उनीहरूले केन्द्रहरू र ‘डेलिभरी ड्राइभर’का रूपमा निरन्तर काम गरिरहनुपर्ने अवस्थाबारे पनि बोलेका थिए।


लस एन्जसलमा प्रदर्शनकारीले अलाबामास्थित अमेजन कर्मचारीको पक्षमा बोलेका थिए

द इन्टरसेप्टले अमेजनका कार्यकारीहरू यो अवस्थाबारे जानकार रहेको आन्तरिक दस्तावेज आफूले प्राप्त गरेको बताएको थियो। अमेजनले गल्ती स्वीकार गरेको विज्ञप्तिमा भनेको छ, ‘कहिलेकाहीँ ट्राफिकका कारण अथवा ग्रामीण भेगका कारण र खासगरी कोभिडका कारण धेरै सार्वजनिक शौचालयहरू बन्द रहँदा चालकहरूलाई समस्या परेको हामीलाई थाहा छ।’

उसले ‘धेरै समयदेखि यस्ता उद्योगमा त्यस्ता समस्या रहेको भन्दै समस्या समाधान गर्न चाहेको’ बताएको छ। पोकनले शनिवार माफी अस्वीकार गर्दै ट्विट गरेका छन्, ‘उफ्। त्यो मेरो बारेमा होइन तिम्रा (अमेजनका) कर्मचारीबारेमा हो- जसलाई तिमीले उचित र सम्मानपूर्ण व्यवहार गरिरहेका छैनौ। तिम्रा सबै कर्मचारीलाई राम्रो काम गर्ने वातावरण नभएको स्वीकार गर र सबैका लागि त्यो समस्याको समाधान खोज अनि उनीहरूलाई कुनै हस्तक्षेप नगरी युनियन खडा गर्न देऊ।’

बेसमर र अलाबामाका अमेजन कामदारले गत हप्ता उनीहरू खुद्रा, होलसेल र डिपार्टमेन्ट स्टोर युनियनमा प्रतिनिधित्व गर्न चाहन्छन् कि भन्नेबारे ऐतिहासिक मतदान गरेका छन्। त्यो प्रयत्नलाई अमेजनले विरोध गरेको छ। आगामी हप्ता उक्त मतदानको परिणाम आउने अपेक्षा राखिएको छ।

यदि उनीहरूले हुन्छ भन्ने पक्षमा मतदान गरे भने त्यो अमेजनको पहिलो अमेरिकी युनियन हुनेछ। अमेजनका युरोपेली कार्यालयमा काम गर्ने कर्मचारीहरू युनियनमा आबद्ध भए पनि अमेरिकामा त्यो कार्य हालसम्म अमेजनले रोक्दै आएको छ। बीबीसी

प्रतिक्रिया