
देशका ७४ जिल्लामा डेंगी संक्रमण, गण्डकीमा सबैभन्दा बढी
काठमाडौं – देशका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ। पछिल्लो सातामा मात्र १६० जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार, चालु आर्थिक वर्षको सुरु देखिनै झन्डै आठ महिनामा कुल २,७२० जनामा डेंगी संक्रमण पुष्टि भएको छ। सबैभन्दा धेरै गण्डकी प्रदेशमा ७९७ जनामा डेंगी देखिएको छ भने वाग्मती प्रदेशमा ५६८, कोसी प्रदेशमा ४७९, लुम्बिनी प्रदेशमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र मधेस प्रदेशमा सबैभन्दा कम ४९ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही क्षेत्रहरूमा लगातार वर्षा भइरहेकाले डेंगी संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जनतालाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयले घर वरिपरिका जमेको पानी, खाल्डाखुल्डी र लामखुट्टेको वासस्थान नष्ट गर्न विशेष ध्यान दिनुपर्ने बताएको छ।



कागजपत्र |
