नारायणी अस्पतालमा कैदीको मृत्युपछि तनाव, टायर बालेर प्रदर्शन


वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एकजना कैदीको मंगलबार मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२५ घर भएका राहुल साहको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्।

प्रहरीका अनुसार साह तीन वर्षदेखि कर्तव्य ज्यानको मुद्दामा जेल सजाय काट्दै आएका थिए र उनलाई २५ वर्षको फैसला सुनाइएको थियो। मृतक साह अस्पतालमा व्यायाम गरिरहेका बेला अचानक स्वास्थ्य समस्या देखिएको थियो।

मृत्यु पछि, साहका आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेका छन्। परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्य अस्पतालमा लैजान सिफारिस गरेको थियो, तर जेल प्रशासनले अनुमति नदिँदा साहको मृत्यु भएको बताइन्छ।

आफन्तहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया