पर्साको डेढु खोलामा डुबेर दाजुभाइको मृत्यु


वीरगन्ज- पर्साको ठोरी गाउँपालिका–२ स्थित डेढु खोलामा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। मृतकहरू मनोजय कठायतका ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत हुन्।

ठोरी गाउँपालिका वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानुअघि दाजुभाइ दुवैले घरबाट करिब १५० मिटर टाढा रहेको खोलामा नुहाउन गएको थिए। खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूले ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले भने, “दुवै बालक तैरिरहेको अवस्थामा स्थानीयले उद्धार गरी ठोरी अस्पताल पुर्‍याए, तर स्वास्थ्यकर्मीहरूले मृत घोषणा गरेका छन्।”

प्रहरीले शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया