धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य बिमा सेवा धुलिखेल अस्पतालबाट


काभ्रे – धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि धुलिखेल अस्पतालको भवनबाट स्वास्थ्य बिमा सेवा सुरुआत गर्ने भएको छ ।

यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो ।

केन्द्रले प्रेषण केन्द्र (रेफरल)का लागि सहज हुने उद्देश्यले अस्पतालको भवनमा नै ‘विस्तारित स्वास्थ्य बिमा सेवा केन्द्र’ को सेवा दिने निर्णयसहित सेवा सुरु गरेको हो ।

सरकारी स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा दिने नीतिअनुसार धुलिखेल अस्पतालमा उपलब्ध हुँदै आएको प्रथम सेवा विन्दुको सुविधा यही साउन १ गतेदेखि रेफरल सेन्टरको रुपमा मात्रै काम गरिरहेको छ ।

नगरले धुलिखेल अस्पतालमा बिमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटनै चिकित्सक, नर्स, औषधिसहित रिफरल सेवा सुरु गरिएको जनाएको छ ।

नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेल अस्पतालसँगको साझेदारीमा सेवा सुरु गरिएकाले जनशक्ति अभाव भएका बेला चिकित्सकलगायत भौतिक पूर्वाधारमा पनि दुवै संस्थाले सघाउने सहमति भएको छ ।

प्रतिक्रिया