गाउँमा कमजोर नेटवर्क, खोलामा भत्ता नवीकरण गर्ने बाध्यता


डोटी- जोरायल गाउँपालिका वडा नं ५ र ६ मा ४-जी नेटवर्क अभावका कारण सामाजिक सुरक्षा भत्ता नवीकरणको काम निकै कठिन बनेको छ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि बायोमेट्रिक प्रणालीमार्फत विवरण अद्यावधिक गर्न इन्टरनेटको आवश्यकता पर्दछ। तर, यस क्षेत्रमा इन्टरनेट सेवा नपुगेका कारण वृद्धवृद्धा आमाबुबाहरू खोलाकिनार र टाकुरा जस्ता स्थानमा पुगेर मात्र नेटवर्कको खोजी गर्न बाध्य भएका छन्।

वडा नं ५ का वडा सचिव बिनोद रजवारका अनुसार गाउँमै नेपाल टेलिकमको नेटवर्क उपलब्ध भए पनि प्रभावकारी छैन। “घाम लागेको बेला मात्र केही समय नेटवर्क चल्छ, तर बादल लाग्दा वा मौसम बिग्रँदा सम्पर्क काटिन्छ,” उनले भने।

यस कारण वृद्धवृद्धाहरूले आफ्नो भत्ता नवीकरण गर्न निकै कष्ट सहनुपरेको छ। गाउँमा प्रभावकारी नेटवर्क नभएकाले सामाजिक सुरक्षाको सेवा पाउन उनीहरू थप समस्यामा परेका छन्।

स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस समस्याको समाधानका लागि तुरुन्त पहल गर्नुपर्ने माग उठेको छ।

प्रतिक्रिया