
रामेछापमा जीप दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काभ्रेपलाञ्चोक — रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको जिप दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए ।
हेटौंडा जान लागेको बिएससी ८४६३ नम्बरको गाडी आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ ।



कागजपत्र |
